सम्बन्धित हुलाकले देहायका अवस्थामा बीमा वस्तु प्रेषकलाई नै फिर्ता पठाउनु पर्दछः–
(क) बीमा वस्तुको आगमन सूचना दिएका मितिदेखि १० दिनसम्ममा ठेगानावालाले डेलिभरी नलिएमा, वा
(ख) ठेगानावालाले बीमा वस्तु लिन इन्कार गरेमा वा सही डेलिभरी दिने ठेगानावाला नै नभेटिएमा वा ठेगानावालाको मृत्यु भै डेलिभरी हुन नसकेमा,
(ग) ठेगानावाला बिना सूचना अघि बसेको ठाउँ छाडी अन्यत्र गएमा वा बीमा वस्तु डेलिभरी गर्ने अख्तियार नभएको हुलाकको अधिकारक्षेत्रमा सरेकोमा सो सरेका १० दिनभित्र ठेगानावाला वा निजको अख्तियार पाएको वारिसलाई डेलिभरी दिन तर्फबाट प्रयास गर्दा पनि ठेगानावाला पत्ता नलागी बीमा वस्तु डेलिभरी हुन नसकेमा । तर बीमा वस्तु हुलाकमा आइपुगेको समयमा बीमा वस्तुको ठेगानावाला सो हुलाक डेलिभरी क्षेत्रबाट बाहिर गएको भए र सो हुलाकमा निजको नाममा बीमा वस्तु आएको सूचना हुलाकबाट वा अरू कुनै तवरबाट थाहा पाई त्यसको डेलिभरी लिने इच्छाको लिखित सूचना सम्बन्धित हुलाकलाई खण्ड (ग) मा उल्लिखित १० दिन भित्र दिएमा सो बीमा वस्तु अरू ५ दिनसम्म सो हुलाकमा राखिनेछ, सो ५ दिन भित्र पनि ठेगानावाला वा निजको अख्तियार पाएको वारिसले डेलिभरी नलिएमा सो ५ दिन भुक्तान भएपछि तुरून्त सो बीमा वस्तु प्रेषकलाई नै फिर्ता पठाइनेछ ।